काठमाडौं ।चाँदीजस्तो देखिने धातुबाट निर्मित विभिन्न सामग्रीसहित प्रहरीले वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टमा मंगलबार बिहान करिब १० बजे नियमित जाँचका क्रममा भारतीय नम्बर प्लेटको बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकलबाट ती सामग्री फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार दुवै जनाको जाँच गर्दा चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न वस्तु बरामद गरेको हो।प्रहरीले बरामद गरेका सामग्रीमा चार थान चम्चा, एउटा सिक्री, एउटा प्लेट, गणेश र लक्ष्मीका दुई थान मूर्ति तथा माछा, हरिण, कछुवा र गोरुका आकृति रहेका छन्। बरामद सबै सामानको कुल तौल ३२३ ग्राम १३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै व्यक्ति र बरामद सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।