काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज देशका विभिन्न भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो देखिने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज बुधबार देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। आज कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यसैले ती क्षेत्रका बासिन्दालाई मौसमको अवस्थालाई ध्यानमा राखेर दैनिक गतिविधि सञ्चालन गर्न सुझाव दिइएको छ।
यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। यसैगरी, बिहीबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ। कोशी प्रदेशको तराई क्षेत्रमा समेत बादल लाग्ने सम्भावना छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।