काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)को डेरामा चोरी गरेको आरोपमा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीको घटनाबारे अनुसन्धान गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय राजेन्द्र कुमार भनिने लल्लु पोदार र ४६ वर्षीया विणा देवी रहेका छन्। प्रहरीका अनुसार विणा देवी र विकास पोदार आमाछोरा हुन्। प्रहरी अनुसन्धानअनुसार उनीहरूले काठमाडौंको कलंकीस्थित तासिङडोल मार्गमा रहेको किसन सिंह बस्नेतको घर र त्यहाँ डेरा गरी बस्ने सांसद थपलियाको कोठामा चोरी गरेका थिए। त्यसैगरी, कलंकीकै रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा समेत चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
सांसद थपलिया सुर्खेतबाट काठमाडौं फर्किएर गत कात्तिक ५ गते आफ्नो कोठामा पुग्दा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले चोरीका सामान पोका पारेर भारत जाने तयारी गरिरहेका बेला चारै जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार दशैंलाई लक्षित गरी चोरी गरिएको र चोरीका सामान भारत लगेर बेच्ने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूको साथबाट सुनचाँदीका गरगहना तथा भाँडावर्तनसहित ३२ थान सामान बरामद गरिएको प्रहरीले जनाएको छ। चोरी भएका सामानमा वाइनसमेत रहेको प्रहरीको भनाइ छ।