काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा प्रधानमन्त्रीले मागेको भन्ने चर्चालाई निराधार र भ्रामक भन्दै खण्डन गरेको छ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरी संगठनभित्रको आन्तरिक सूचना चुहावटको विषयलाई लिएर अनावश्यक हल्ला फैलिएको बताएका हुन्। उनका अनुसार प्रहरीभित्रका संवेदनशील सूचना बाहिरिएको विषयमा संगठनकै आन्तरिक संयन्त्रबाट सामान्य सोधपुछ र छानबिन भइरहेको छ। यही विषयलाई प्रधानमन्त्रीले आईजीपीको राजीनामा मागेको वा उनलाई कारबाही गर्न लागेको भन्दै गलत रूपमा प्रचार गरिएको उनको भनाइ छ।
प्रवक्ता पोखरेलले यस प्रकरणमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई पक्राउ गर्न प्रधानमन्त्री वा सरकारका तर्फबाट निर्देशन नदिइएको पनि स्पष्ट पारे। सोधपुछका क्रममा कसैलाई नियन्त्रणमा लिइएको भए तत्काल रिहा गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको उनले जानकारी दिए। त्यस्तै, सरकारले प्रेस स्वतन्त्रतालाई सीमित गर्न खोजेको भन्ने आरोप अस्वीकार गर्दै संविधानले सञ्चारमाध्यमलाई प्रदान गरेको अधिकार र प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको प्रवक्ता पोखरेलले बताए।