काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षालाई श्रम बजार र निजी क्षेत्रको वास्तविक आवश्यकतासँग जोड्नुपर्ने बताएका छन् ।
बजारमा माग भएका सीप सिकाउन नसक्दा प्राविधिक शिक्षाप्रति विद्यार्थीको रुचि घट्दै गएको उनको भनाइ छ ।बुधबार राप्ती उपत्यका देउखुरी मा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्राविधिक तथा व्यावसायिक सीप र निजी क्षेत्रको आवश्यकतासम्बन्धी अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री आचार्यले समयअनुसार पाठ्यक्रम र शिक्षण विधि परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्राविधिक शिक्षामा राज्यले लगानी गरे पनि विद्यार्थीको सङ्ख्या घट्नु र कतिपय शिक्षालय सञ्चालनमै कठिनाइ भोग्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उनले बताए । परम्परागत शिक्षण प्रणाली तथा उद्योगको मागसँग मेल नखाने पाठ्यक्रम यसप्रतिको आकर्षण घट्नुका कारण हुन सक्ने उनको विश्लेषण थियो ।रोजगारीको खोजीमा रहेका युवालाई सीप र उद्यमशीलतासँग जोडेर दक्ष जनशक्तिका रूपमा विकास गर्न प्रदेश सरकारले थप पहल गर्ने पनि आचार्यले बताए । उनका अनुसार श्रम बजारको आवश्यकता पहिचान गरेर त्यसैअनुसार तालिम र पाठ्यक्रम तयार गर्न आवश्यक छ ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा विद्युतीय तथा मेकानिकल क्षेत्रका प्राविधिक जनशक्तिको माग करिब ५२ प्रतिशत रहेको छ । तर, शिक्षालयबाट उत्पादन हुने जनशक्तिको सीप र उद्योगले खोजेको दक्षताबीच पर्याप्त तालमेल हुन सकेको छैन । दक्ष प्राविधिकको अभावमा उद्योगहरूले अन्य जिल्ला तथा भारतबाट जनशक्ति ल्याउनुपर्ने अवस्था रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास, शिक्षालय र उद्योगबीच सहकार्य, दक्ष प्रशिक्षकको व्यवस्था तथा प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । पढ्दै, सिक्दै र कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउँदै सीप विकासमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने उनीहरूको भनाइ थियो ।
प्रदेशमा आर्थिक वर्ष २०८३ र ८४ का लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत कुल ४१ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको कार्यक्रममा प्रस्तुत विवरणमा उल्लेख छ । यसमध्ये सामाजिक विकास मन्त्रालयका लागि ३० करोड १४ लाख ५२ हजार रुपैयाँ छुट्याइएको छ ।प्रस्तुत तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा १५ देखि ६५ वर्ष उमेर समूहको जनसङ्ख्या ६४.९ प्रतिशत, साक्षरता दर ७८.१ प्रतिशत र बेरोजगारी दर ७.५ प्रतिशत रहेको छ । प्रदेशको श्रमशक्तिमध्ये ६०.३ प्रतिशत कृषि, वन तथा मत्स्यन क्षेत्रमा, ३६.२ प्रतिशत सेवा क्षेत्रमा र ३.५ प्रतिशत औद्योगिक उत्पादन क्षेत्रमा आबद्ध रहेको जनाइएको छ ।