काठमाडौं ।बैंकिङ कसुर मुद्दामा चार करोड रुपैयाँ बिगो ठहर भई फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ का ६३ वर्षीय दीपक चन्द्र न्यौपाने रहेका छन्।राधा पाण्डेयले दिएको जाहेरीका आधारमा चलेको मुद्दामा झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते न्यौपानेलाई दोषी ठहर गर्दै चार करोड रुपैयाँ बिगो, बिगो बराबरको जरिवाना र एक महिना १५ दिन कैद सजाय सुनाएको थियो।अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुक्दै बसेको सूचनाका आधारमा सीआईबीको टोलीले उनलाई भक्तपुर नगरपालिका–१ स्थित सृजनाटोलबाट नियन्त्रणमा लिएको हो।
सीआईबीले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार पक्राउ परेका न्यौपानेलाई अदालतको फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ।सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अदालतमा पेस गरिएको जानकारी दिएका छन्।