काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने स्पष्ट सोच तथा प्रतिबद्धता पाएको बताएका छन्।
सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले छोटो संवादबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता बुझ्न पाएको बताएका हुन्।केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा शाहले अन्तर्राष्ट्रिय मञ्चमा सम्बोधन गर्दा नै उनको दूरदर्शिता स्पष्ट भएको उल्लेख गर्दै मोदीले अहिलेको भेटवार्तामा नेपालको भविष्यप्रतिको उनको सोच झनै नजिकबाट बुझ्ने अवसर मिलेको बताए।
यस वर्ष नेपाली जनताले प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताको आकांक्षा र आशाको प्रतिबिम्ब भएको मोदीको भनाइ थियो। उनले सशक्त र समृद्ध नेपाल निर्माणको यात्रामा भारत सधैँ साझेदार बन्ने प्रतिबद्धता पनि व्यक्त गरे। नेपाल र भारतबीचको सम्बन्ध सामान्य छिमेकीको मात्रै नभई आपसी विश्वासमा आधारित विशिष्ट सम्बन्ध भएको उल्लेख गर्दै मोदीले दुवै देशका खुसी र चुनौती साझा रहेको बताए। एकअर्काको विकासमा साझेदार र कठिन परिस्थितिमा सहयोगीका रूपमा दुवै देश उभिँदै आएको उनको भनाइ थियो। यसै क्रममा मोदीले हालै नेपालमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीप्रति सहानुभूति प्रकट गरे।