काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानलाई व्यवस्थित बनाउन निर्वाचन समितिले एकपटकमा १५० देखि २०० जनासम्म प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ।
निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदान प्रक्रिया छिटो सम्पन्न गर्ने उद्देश्यले यस्तो व्यवस्थापन गरिएको जानकारी दिएका हुन्। उनका अनुसार बिहान ७ बजेबाट मतदान सुरु गरी दिउँसो ३ बजेसम्म निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।खड्काले बिहीबार खुलामञ्चस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत मतदान व्यवस्थापनबारे जानकारी दिएका हुन्।मतदानका लागि बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा तथा अन्य प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा छुट्टाछुट्टै मतदान केन्द्र निर्माण गरिएको छ।कांग्रेसको संशोधित विधानअनुसार नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ। निर्वाचनमा विभिन्न पदका लागि सयौँ उम्मेदवार प्रतिस्पर्धामा छन्।