काठमाडौँ । नेपाल प्रहरीमा सिनियर अधिकृतहरूको नियमित सरुवा प्रभावित भएको छ।
प्रहरी नियमावलीअनुसार सामान्यतया कमान्ड सम्हालेको एक वर्षपछि सरुवा हुनुपर्ने भए पनि इन्स्पेक्टरदेखि डीएसपी, एसपी र केही एसएसपी तहका अधिकारीहरू अवधि पूरा भइसक्दा पनि पुरानै जिम्मेवारीमा छन्।जिल्ला प्रहरी प्रमुख, गण तथा ट्राफिक प्रमुख, प्रदेश प्रहरी प्रमुख, तालिम केन्द्र र अन्य प्रहरी इकाइको नेतृत्व गरिरहेका कतिपय अधिकृतले १३ देखि १४ महिनासम्म एउटै कमान्ड सम्हालिरहेका छन्। गत ३१ भदौमा ४८ जना एसपीको सरुवा गरिएको थियो। त्यसपछि नयाँ कमान्डमा पुगेका उनीहरूको पनि कार्यअवधि १३ महिना पुग्न लागिसकेको छ। तर अहिलेसम्म नयाँ एसपीलाई ती स्थानमा पठाउने गरी सरुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
बाँके, मोरङ, तनहुँ, भक्तपुर, कास्की, कैलाली, उदयपुर, दाङ र पूर्वी नवलपरासीलगायतका जिल्लामा नयाँ एसपी पठाउन बाँकी रहेको छ। त्यस्तै नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, रुपन्देहीको विशेष सुरक्षा गण सुनवल, धनुषाको मधेश प्रदेश प्रहरी गण, मकवानपुरको विशेष सुरक्षा गण रातामाटे, जनकपुरको विशेष सुरक्षा गण तथा तनहुँको विशेष सुरक्षा गणका गणपति एपीको समेत एक वर्षे कार्यअवधि पूरा भइसकेको बताइएको छ।एसपी तहमा मात्र होइन, डीएसपीको सरुवा पनि प्रभावित भएको छ। पहाडी जिल्लाका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख तथा काठमाडौँ उपत्यकाका विभिन्न वृत्त प्रमुखको एक वर्षे अवधि पूरा भए पनि उनीहरूको सरुवा हुन सकेको छैन।
दार्चुला, डडेल्धुरा, मुगु, प्युठान, कालिकोट र पाँचथरलगायतका जिल्लाका डीएसपी पनि अवधि पूरा भएपछि पनि सोही जिम्मेवारीमा छन्। प्रहरी नियमावलीले एसपीसम्मका अधिकृतको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको छ। अधिकार आईजीपीसँग भए पनि मन्त्रालयको स्वीकृति वा ‘ग्रिन सिग्नल’ बिना सरुवा गर्ने अभ्यास नरहेको प्रहरी संगठनभित्रका अधिकारीहरू बताउँछन्। समयमै सरुवा नहुँदा प्रहरी अधिकृतको वृत्ति विकासमा समेत असर पर्न सक्ने जानकारहरूको भनाइ छ। एउटै प्रकारको जिम्मेवारीमा लामो समय रहँदा प्रहरीका विभिन्न कार्यक्षेत्रको अनुभव हासिल गर्ने अवसर सीमित हुने र त्यसले भविष्यको जिम्मेवारीका लागि आवश्यक नेतृत्व क्षमता विकासमा असर पार्न सक्ने उनीहरूको तर्क छ। नियमित सरुवालाई प्रहरी संगठनमा सबै अधिकृतलाई समान अवसर दिने माध्यमका रूपमा पनि हेरिन्छ। पारदर्शी र समयबद्ध सरुवाबाट विभिन्न जिम्मेवारी तथा कार्यक्षेत्रमा काम गर्ने अवसर समान रूपमा वितरण हुने भएकाले नियमित सरुवा आवश्यक रहेको जानकारहरू बताउँछन्।
प्रवक्ता भन्छन्– ‘चाँडै सरुवा निकाल्छौँ’
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्ले भने अवधि पुगेका अधिकृतहरूको सरुवा छिट्टै हुने बताउँछन्। उनका अनुसार सामान्यतः एक वर्षको अवधिमा सरुवा गर्ने अभ्यास भए पनि विभिन्न कारणले कहिलेकाहीँ समय तलमाथि हुन सक्छ। उनले पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारमा ठूलो संख्यामा प्रहरी जनशक्ति परिचालन गर्नुपरेकाले पनि सरुवा प्रक्रियामा केही ढिलाइ भएको बताए। तर प्रहरी संगठनभित्रका केही अधिकारी भने बाढी तथा उद्धार मात्रै सरुवा ढिलाइको कारण नभएको बताउँछन्। विशेषगरी कुन जिल्लाको कमान्डमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लाग्न नसक्दा सरुवा प्रक्रिया लम्बिएको उनीहरूको बुझाइ छ।