काठमाडौं ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन केन्द्रमा पुगेर महर्जनले खुला समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा आफ्नो नाम दर्ता गराएका हुन्।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महर्जनले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताए। उनले पार्टीको सभापति पदमा गगनकुमार थापा ठूलो मतान्तरसहित निर्वाचित हुने दाबी समेत गरे।
महर्जनका अनुसार लोकतान्त्रिक पार्टीभित्र नेतृत्व चयनका क्रममा प्रतिस्पर्धा हुनु असामान्य विषय होइन। उनले कांग्रेसलाई देशको प्रमुख लोकतान्त्रिक पार्टीका रूपमा उल्लेख गर्दै आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताए।ललितपुर महानगरपालिकाको मेयरमा लगातार दुई कार्यकाल निर्वाचित भइसकेका महर्जन अब सक्रिय रूपमा पार्टी राजनीतिमा अघि बढ्ने तयारीमा छन्। नेपालको संविधानले स्थानीय तहका प्रमुख तथा उपप्रमुख एउटै पदमा लगातार दुई कार्यकालभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ।