काठमाडौं ।अभिनेता अनुप विक्रम शाहीले ‘टनेल २६’ लाई नेपाली फिल्म उद्योगमा जम्बी कथावस्तुमा आधारित पहिलो फिल्म भएको दाबी गरेका छन्।
नेपाली चलचित्रमा यसअघि कमै प्रयोग भएको विषयलाई फिल्ममा प्रस्तुत गरिएको उनको भनाइ छ।हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको संयोजन रहेको फिल्म दर्शकका लागि नयाँ अनुभव बन्न सक्ने शाहीले बताएका छन्। उनका अनुसार फिल्मको कथा र प्रस्तुतिको शैली नेपाली चलचित्रमा देखिँदै आएकोभन्दा फरक छ।भारत, भुटान र नेपालको सहकार्यमा निर्माण गरिएको ‘टनेल २६’ असोज २३ गतेदेखि नेपालमा प्रदर्शनमा आउने तयारीमा छ।
फिल्मलाई केहीले भुटानी चलचित्रका रूपमा बुझ्ने गरेको भए पनि शाहीले यसलाई स्पष्ट पार्दै तीन देशको सहकार्यमा बनेको चलचित्र भएको बताएका छन्। उनका अनुसार नेपालमा नेपाली भाषामै फिल्म प्रदर्शन हुनेछ भने भुटानमा भुटानी भाषामा र भारतमा स्थानीय भाषाअनुसार डब गरेर प्रदर्शन गरिनेछ।भाषा परिवर्तन वा डबिङका कारण फिल्मको मूल पहिचान परिवर्तन नहुने शाहीको तर्क छ। विदेशी फिल्म नेपाली भाषामा डब गरेर हेर्दा पनि त्यसको मूल पहिचान परिवर्तन नहुने उदाहरण दिँदै उनले ‘टनेल २६’ लाई नेपालमा नेपाली फिल्मकै रूपमा लिनुपर्ने बताए।
वास्तविक सुरुङभित्र फिल्म छायांकन गर्दा कठिन परिस्थितिको सामना गर्नुपरेको शाहीले स्मरण गरे। यद्यपि, फिल्मको टिजरप्रति दर्शकबाट आइरहेको सकारात्मक प्रतिक्रिया र बढ्दो उत्साहले छायांकनका क्रममा भोगेको कठिनाइ बिर्साएको उनले बताए।