काठमाडौं ।कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी चलाइएको बहिष्कार अभियानप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आफ्नो भनाइको आशय परिवर्तन गरी केही अंश काटछाँट गरेर प्रस्तुत गरिएको र त्यसबाट गलत सन्देश फैलाइएको उनको आरोप छ।बुधबार फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै गिरीले असहमतिलाई हिंसाबाट नभई विचार र तर्कमार्फत व्यक्त गर्नुपर्ने बताएका छन्। कसैलाई लखेट्ने, कुटपिट गर्ने वा जबर्जस्ती हटाउने प्रवृत्तिको विरोध गर्दै उनले असहमति भए बौद्धिक बहसबाट त्यसको जवाफ दिनुपर्ने धारणा राखेका छन्।
आफ्नो अभिव्यक्तिमा थप कुरा जोडेर तथा बीचका अंश सम्पादन गरेर सामाजिक सञ्जालमा आफूविरुद्ध बहिष्कारको नारा लगाइएको देख्दा आश्चर्य लागेको उनले उल्लेख गरेका छन्।समाजमा विभिन्न विषयलाई जातीय दृष्टिकोणबाट व्याख्या गर्दै आपसी सद्भाव र सहिष्णुतामा असर पार्ने प्रयास भइरहेको भन्दै गिरीले चिन्ता व्यक्त गरेका छन्। कला र संस्कृति क्षेत्रमा समेत जातीय विभाजन र घृणालाई प्रश्रय दिन नहुने उनको भनाइ छ।
पछिल्लो समय चलचित्र ‘छ माया छपक्कै २’ को व्यापारिक प्रदर्शन र बक्स अफिस नतिजालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया तथा भिडियो सार्वजनिक भइरहेका छन्। यही क्रममा गिरीका पुराना अभिव्यक्तिका अंश काटेर चलचित्र बहिष्कार गर्नुपर्ने आशयका सामग्रीसमेत फैलिएको समाचारमा उल्लेख छ।गिरीले भने आफूले सधैँ भौतिक आक्रमणको विरोध गर्दै विचार र बौद्धिक बहसलाई प्राथमिकता दिएको स्पष्ट पारेका छन्।