दसैँ–तिहारको लामो बिदा छ। घरमा फुर्सद पनि छ। नेटफ्लिक्स खोल्नुभयो, तर के हेर्ने भनेर अलमलमा हुनुहुन्छ? हजारौँ फिल्ममध्ये आफ्नो समय खर्च गर्नलायक सिनेमा छान्नु सजिलो छैन। अझ, हेर्दा रमाइलो लाग्ने मात्र होइन, हेरिसकेपछि पनि दिमागमा घुमिरहने फिल्म खोज्दै हुनुहुन्छ भने छनोट झन् चुनौतीपूर्ण हुन्छ।
नेपाली पब्लिक अनलाइनले यही जिज्ञासासहित फिल्मप्रेमी शेषराज भट्टराईसँग कुरा गरेको छ। उनले सिफारिस गरेका आठ हलिउड सिनेमामा अपराध, सत्ता, पैसा, महत्त्वाकाङ्क्षा, अन्तर्राष्ट्रिय कूटनीति, प्रेम र मानवीय स्वभावका फरक–फरक कथा छन्।
शेषराज भट्टराई शैक्षिक उद्यमी तथा अन्तर्राष्ट्रिय शिक्षा र आप्रवासन नीतिका अध्येता हुन्। उनी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष तथा अर्बिट इन्टरनेसनल एजुकेसनका कार्यकारी निर्देशक हुन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र विषयमा एमफिल/पीएचडी तहमा अध्ययनरत छन्। राजनीतिक अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति र शिक्षा नीतिमा रुचि राख्ने भट्टराई सिनेमा पनि गहिरो चासोका साथ हेर्छन्।
उनको छनोटमा परेका यी आठ फिल्म किन हेर्ने? किनभने राम्रो सिनेमा भनेको दुई–तीन घण्टा समय बिताउने माध्यम मात्र होइन। त्यसले तपाईंलाई हँसाउन, झस्काउन, भावुक बनाउन र आफूले सोच्दै आएको कुरामाथि पुनर्विचार गर्न पनि बाध्य पार्न सक्छ।
यसपालि दसैँ–तिहारको फुर्सदमा नेटफ्लिक्स खोल्दा यी आठ सिनेमालाई आफ्नो सूचीमा राख्नुहोस्। कथा हेर्नुहोस्, पात्र बुझ्नुहोस् र फिल्मले उठाएका प्रश्नमाथि आफैँ सोच्नुहोस्।
यी हुन्, दसैँ–तिहारको बिदामा नेटफ्लिक्समा हेर्न शेषराज भट्टराईले सिफारिस गरेका आठ सिनेमा।
१. स्कारफेस (Scarface - १९८३)
अल पचिनोको नाम सुन्ने बित्तिकै धेरैलाई द गडफादर फिल्मको 'माइकल कोर्लिओनी' क्यारेक्टरको याद आउँछ। तर, स्कारफेस फिल्ममा 'टोनी मोन्टाना' को रूपमा उनले गरेको ऐतिहासिक अभिनयले उनलाई विश्व सिनेमाकै सबैभन्दा प्रभावशाली कलाकार बनायो। यो फिल्म क्युबाबाट खाली हात, शरणार्थी बनेर अमेरिका छिरेको एउटा साधारण आप्रवासी टोनी मोन्टानाको कथा हो, जसको दिमागमा एउटै भूत सवार हुन्छ—जसरी पनि धनी र शक्तिशाली बन्ने।
कथा अघि बढ्दै जाँदा ऊ सुरुवाती सङ्घर्षबाट उठेर बिस्तारै अपराधको दुनियाँको सबैभन्दा ठूलो डन (किङपिन) बन्न पुग्छ। तर, पैसा र पावर हातमा आएपछि उसको घमण्ड, रिस र एक्लोपन पनि नियन्त्रण बाहिर जान्छ। फिल्मले 'अमेरिकन ड्रिम' को कालो पाटो र पैसा तथा पावरको नशाले मान्छेलाई कसरी सिध्याउँछ भन्ने कुरालाई ऐना जस्तै छर्लङ्ग पारेको छ।
फिल्म विशेष लाग्नुको मुख्य कारण अल पचिनोको दमदार अभिनय र ओलिभर स्टोनको सशक्त पटकथा हो। टोनी मोन्टानाको उदय, शक्तिको उन्माद र अन्ततः हुने कारुणिक पतनले दर्शकलाई सुरुदेखि अन्त्यसम्म पर्दामा बाँधेर राख्छ। ग्याङ्स्टर विधाका फिल्म मन पराउने र पहिलो पटक एउटा उत्कृष्ट सिनेमाको अनुभव लिन चाहने दर्शकका लागि यो फिल्म एउटा उत्कृष्ट सिफारिस हो।
२. आर्गो (Argo - २०१२)
यो सन् १९७९ को एउटा सत्य घटनामा आधारित निकै रोमान्चक फिल्म हो। इरानमा राजनीतिक विद्रोह चर्किएपछि त्यहाँको अमेरिकी दूतावासमा ठूलो हमला हुन्छ र सबैजना बन्धक बनाइन्छन्। तर, छ जना अमेरिकीहरू भने भाग्यवश ज्यान जोगाएर सुटुक्क दूतावासबाट भाग्न र लुक्न सफल हुन्छन्।
इरानी सेनाले उनीहरूलाई सहरभरि खोजिरहेको हुन्छ र फेला पारेमा ज्यान जाने पक्का हुन्छ। ती छ जनालाई इरानबाट सहीसलामत बाहिर निकाल्न सीआईए का एजेन्ट टोनी मेन्डेज (बेन एफ्लेक) ले एउटा अनौठो जुक्ति निकाल्छन्।
उनी हलिउडमा एउटा नक्कली साइन्स-फिक्सन फिल्म 'आर्गो' बनाउन लागेको नाटक गर्छन्। उनी आफैँ फिल्मको लोकेसन खोज्न हिँडेको डाइरेक्टर बनेर इरान छिर्छन् र त्यहाँ लुकेका छ जनालाई फिल्मको क्रु मेम्बर (क्यामेराम्यान, मेकअप म्यान आदि) को नक्कली पहिचान दिएर विमानस्थलबाटै भगाउने योजना बुन्छन्।
यो झट्ट सुन्दा असम्भव लाग्ने मिसन नै फिल्मको मुख्य कथा हो।
यो फिल्मले ओस्कार अवार्ड समेत जितेको छ। यसको मुख्य विशेषता भनेकै सुरुदेखि अन्त्यसम्म कायम रहने सस्पेन्स हो। बेन एफ्लेकले अभिनयसँगै निर्देशन पनि उत्तिकै सन्तुलित र यथार्थपरक तरिकाले गरेका छन्। ठूलो राजनीतिक संकट सुल्झाउन हलिउडको नक्कली फिल्म मेकिङको सहारा लिएको यो पाटो पहिलो पटक हेर्ने दर्शकका लागि एकदमै नयाँ र रोचक हुनेछ।
३. सिनर्स (२०२५)
यो फिल्म शिकागोको ग्याङ्स्टर जीवन छोडेर आफ्नो पुर्ख्यौली गाउँ मिसिसिपी फर्किएका दुई जुम्ल्याहा भाइहरू (माइकल बी. जोर्डन) को कथा हो। उनीहरू आफ्नो पुरानो अतीतलाई बिर्सिएर गाउँमा एउटा रात्रिकालीन क्लब खोलेर नयाँ जिन्दगी सुरु गर्न खोज्छन्। तर, क्लब उद्घाटनकै रात उनीहरूको भतिजले गितारमा एउटा अनौठो धुन बजाउँदा गाउँको एउटा पुराना र खतरनाक भ्याम्पायर (रगत पिउने राक्षस) ब्युँतिन्छ।
त्यसपछि ती भाइहरूले आफ्नो ज्यान जोगाउन गर्ने सङ्घर्ष नै फिल्मको मुख्य कथा हो। यो फिल्मको सङ्गीतले मानिसको इतिहास कसरी बोकेको हुन्छ र विगतका पुराना सामाजिक घाउहरू वर्तमानमा कसरी जीवित रहन्छन् भन्ने कुरा एकदमै गहिरो गरी देखाइएको छ। पुराना शैलीका परम्परागत भूत-प्रेतका फिल्मभन्दा बिल्कुलै फरक अनुभव दिने यो फिल्म आधुनिक हलिउडको एउटा विशेष सिर्जना हो।
यसै वर्ष सन् २०२६ को ओस्कार अवार्डमा ऐतिहासिक १६ वटा विधामा मनोनयन पाएर तहल्का मच्चाएको यो फिल्म एउटै कथाभित्र फरक-फरक तह र नयाँ ट्विस्ट खोज्ने दर्शकका लागि एउटा उत्कृष्ट छनोट हो।
४. ट्याक्सी ड्राइभर (१९७६)
हलिउडका महान् निर्देशक मार्टिन स्कोर्सेसीको सशक्त निर्देशन र रोबर्ट डी निरोको अभिनयको एउटा ऐतिहासिक सिर्जना हो ट्याक्सी ड्राइभर। फिल्मको कथा ट्राभिस बिकेलको हो, जो अनिद्रा (इन्सोमेनिया) र युद्धपछिको मानसिक तनाव बोकेर रातको समयमा न्युयोर्कका सडकमा ट्याक्सी चलाउँछ।
सहरको ठूलो भीडभाडबीच पनि ऊ एकदमै एक्लो छ। समाजप्रतिको वितृष्णा र मानिसहरूसँग बढ्दै गएको दूरीले उसको मानसिक अवस्था बिस्तारै बिग्रँदै जान्छ र ऊ सहर सफा गर्ने एउटा हिंस्रक बाटो रोज्न पुग्छ। फिल्मको नियो-न्वार शैली, सडकका निअन बत्ती, अँध्यारा दृश्य र क्यामेराको उत्कृष्ट प्रयोगले न्युयोर्क सहरलाई नै एउटा बेचैन पात्र जस्तो बनाइदिएको छ।
पृष्ठभूमिमा बज्ने मर्मस्पर्शी ज्याज सङ्गीतले ट्राभिसको एक्लोपन र भित्रभित्रै बढिरहेको तनावलाई अझ गहिरो बनाउँछ। ऐनाअगाडि उभिएर रोबर्ट डी निरोले बोलेको "यु टकिङ टु मी?" (तिमी मलाई भन्दैछौ?) भन्ने संवाद फिल्म इतिहासकै सबैभन्दा चर्चित क्षणमध्ये एक हो।
एउटा सामान्य मान्छे कसरी बिस्तारै मानसिक रूपमा विक्षिप्त र एन्टी-हिरो बन्छ भन्ने कुरालाई बुझ्न यो साइकोलोजिकल थ्रिलर फिल्म पहिलो पटक हेर्ने दर्शकका लागि एउटा अतुलनीय अनुभव हुनेछ।
५. द शशाङ्क रिडेम्पसन (१९९४)
नेटफ्लिक्समा के हेर्ने भनेर स्क्रोल गर्दा गर्दा दिक्क हुनुभएको छ भने, आँखा चिम्लेर यो फिल्म प्ले थिचिहाल्नुस्! निर्देशक फ्र्याङ्क डाराबोन्टको यो फिल्म एउटा यस्तो सोझो बैंकरको कथा हो, जो आफूले नगरेको अपराधको चक्करमा जेल पर्छ। श्रीमतीको हत्याको झूटो आरोप लागेपछि एन्डी (टिम रोबिन्स) नामको यो केटो सिधै 'शशाङ्क' जेलको नरक जस्तो संसारमा पुग्छ।
जेलभित्रको त्यो कडा, क्रुर र डरलाग्दो माहोललाई फिल्ममा एकदमै रियल तरिकाले देखाइएको छ। तर, त्यस्तो ठाउँमा पनि एन्डीले हिम्मत हार्दैन। जेलभित्रै उसको भेट रेड (मोर्गन फ्रिम्यान) नामको एउटा पुराना कैदीसँग हुन्छ र उनीहरूको कडा मित्रता अनि जेलबाट निस्किने कडा चाहनाले कथालाई अगाडि बढाउँछ। फिल्मको ब्याकग्राउन्ड म्युजिक र मोर्गन फ्रिम्यानको कथा भन्ने स्टाइल यति मिठो छ कि यसले दर्शकलाई फिल्म नसकिउन्जेल जुरुक्क उठ्न दिँदैन।
विशेष गरी, जेलको पर्खाल तोडेर बाहिर निस्किएपछि वर्षाको पानीमा निथ्रुक्क भिज्दै खुसी मनाएको त्यो एउटा सिन हलिउड इतिहासकै सबैभन्दा बबाल दृश्य मानिन्छ। जिन्दगीको सबैभन्दा गाह्रो समयमा पनि आश र धैर्य कसरी जोगाइराख्ने भन्ने सिकाउने यो फिल्म संसारकै रेटिङमा नम्बर वान स्थानमा आउँछ। नेटफ्लिक्समा एउटा मास्टरपिस फिल्म हेर्न खोज्दै हुनुहुन्छ भने, यो फिल्म मिस गर्नै हुँदैन।
६. ब्लोन्ड (२०२२)
यदि तपाईंलाई पनि मार्लिन मुनरो हलिउडकी सबैभन्दा सुन्दर र ग्ल्यामरस अभिनेत्री मात्र लाग्छिन् भने, यो फिल्मले तपाईंको सोच्ने तरिका पूरै बदल्दिनेछ। निर्देशक एन्ड्रयू डोमिनिकको यो फिल्म हलिउडकी चर्चित आइकन मार्लिन मुनरो (एना डे आर्मस) को पर्दापछाडिको अँध्यारो र पीडादायी जिन्दगीको कथा हो।
बाहिरबाट हेर्दा मार्लिन जति चमकधमक र प्रसिद्धिको शिखरमा देखिन्छिन्, भित्रभित्रै भने उनी आफ्नै पहिचान र व्यक्तिगत सङ्घर्षले पिल्सिएकी हुन्छिन्।
निर्देशकले फिल्ममा उनको भित्री एक्लोपन र मानसिक तनावलाई देखाउन ब्ल्याक एन्ड व्हाइट र रङ्गीन दृश्यहरूलाई एकदमै कलात्मक तरिकाले प्रस्तुत गरेका छन्, जसले दर्शकलाई सिधै उनको पीडादायी यात्राभित्र पुर्याउँछ। फिल्ममा एना डे आर्मसको अभिनय यति उत्कृष्ट र जीवन्त छ कि उनले मार्लिनको रूप, हाउभाउ र उनको भित्री छटपटीलाई पर्दामा हुबहु उतारेकी छन्।
संसारले एउटा सुन्दर अनुहार मात्र ठानेको मार्लिनको वास्तविक जीवन कति जटिल थियो भन्ने कुरा बुझ्न र हलिउडको एउटा फरक सिनेम्याटिक प्रयोग हेर्नका लागि नेटफ्लिक्समा यो फिल्म एकपटक हेर्नैपर्छ।
७. लेडी च्याटर्लीज लभर (२०२२)
यो फिल्म बेलायतका प्रख्यात लेखक डी. एच. लरेन्सले सन् १९२८ मा लेखेको ऐतिहासिक उपन्यासमा आधारित छ। किताबमा धेरै बोल्ड, खुला सेक्स सिन र त्यतिबेला बोल्न नहुने शब्दहरू भएकाले बेलायत सरकारले यसलाई अश्लील भन्दै ३० वर्षभन्दा बढी समयसम्म प्रतिबन्ध लगाइदियो।
त्यसपछि सन् १९६० मा यो किताब छाप्ने 'पेङ्गुइन बुक्स' विरुद्ध बेलायतको अदालतमा एउटा ठूलो मुद्दा चल्यो। सरकारी वकिलहरूले यो किताबले समाज बिगार्छ भन्दै विरोध गरे, तर प्रकाशकको तर्फबाट नामी साहित्यकारहरूले यसको कलात्मक महत्त्व बुझाउँदै बहस गरे।
अन्ततः, अदालतले यो किताब अश्लील नभएर एउटा उत्कृष्ट कला हो भन्दै प्रकाशकलाई जितायो र प्रतिबन्ध फुकुवा गरिदियो। अदालतबाट क्लिन चिट पाएपछि यो किताब संसारभरि सुपरिट भयो र अहिले त्यही किताबमाथि नेटफ्लिक्सले यो भिजुअल भएको फिल्म बनाएको हो।
चलचित्रको मूल कथावस्तु एक सम्भ्रान्त घरानाकी महिला कोनीको वरिपरि घुम्छ, जसका पति पहिलो विश्वयुद्धमा घाइते भई कम्मरमुनिको भाग नचल्ने (अपाङ्ग) हुन्छन्। समाजको कठोर नियम र नाम मात्रको वैवाहिक सम्बन्धबाट निसास्सिएकी कोनी आफ्नो शारीरिक एवं भावनात्मक सामीप्यताको खोजीमा आफ्नै कटेजका एक साधारण कामदार ओलिभरसँग नजिकिन्छिन। उच्च खानदानकी कुलीन महिला र तल्लो वर्गका कामदार पुरुषबीच सुरु भएको यही गोप्य सम्बन्ध नै चलचित्रको मुख्य द्वन्द्व हो।
निर्देशकले चलचित्रमा वर्गीय असमानता र मानवको प्राकृतिक चाहनाबीचको रेखीय द्वन्द्वलाई उत्कृष्ट सिनेम्याटोग्राफी मार्फत प्रस्तुत गरेका छन। यो पितृसत्तात्मक संरचनाभित्र महिलाको भित्री स्वतन्त्रता, अस्तित्व र आत्मसम्मानको खोज गर्ने एउटा गहन साइकोलोजिकल ड्रामा हो। पहिलो पटक एक उत्कृष्ट र परिपक्व सिनेम्याटिक सिर्जना हेर्न चाहने दर्शकका लागि यो चलचित्र एक विशेष छनोट हुन सक्छ।
८. फ्र्यान्केस्टाइन (२०२५)
महान् लेखिका मेरी शेलीले आजभन्दा दुई सय वर्षअघि सोचेको एउटा अनौठो साइन्स-फिक्सन परिकल्पनालाई ओस्कार विजेता निर्देशक ग्विलेर्मो डेल टोरोले पर्दामा उतारेका छन्, जुन अहिले नेटफ्लिक्समा उपलब्ध छ।
यो फिल्म विज्ञान र पागलपनको एउटा अद्भुत ककटेल हो। कथा छ एउटा घमण्डी तर जिनियस वैज्ञानिक डा. भिक्टर फ्र्यान्केस्टाइन (ओस्कर आइज्याक) को, जसले मरेका मान्छेहरूका अङ्गहरू जोडेर एउटा अनौठो र विशाल जीव (ज्याकब इलोर्डी) लाई जीवित पारिदिन्छ। तर, आफूले बनाएको त्यो जीव यति भयानक देखिन्छ कि भिक्टर आफैं डराएर उसलाई बेसहारा छोडिदिन्छ।
सहरबाट धपाइएको र मान्छेहरूको घृणा पाएको त्यो जीवले जब मायाको सट्टा हिंसा भोग्छ, तब उसले आफ्नो बनाउने मान्छेसँग बदला लिने कसम खान्छ। त्यसपछि, सिर्जना गर्ने वैज्ञानिक र त्यो जीवबीच सुरु हुने मानसिक तथा शारीरिक लडाइँ नै फिल्मको मुख्य कथा हो। निर्देशक डेल टोरोले फिल्मको पुराना शैलीको वातावरण र भिजुअल इफेक्ट्सलाई यसरी सजाएका छन् कि यसले दर्शकलाई सिधै १९औं शताब्दीको त्यो अँध्यारो र जाडो संसारमा पुर्याउँछ।
ओस्कार अवार्डमा समेत आफ्नो जादू देखाएको र ज्याकब इलोर्डीको दमदार अभिनयले भरिएको यो क्लासिक साइन्स-फिक्सन र हरर कथा हेर्नका लागि नेटफ्लिक्समा यो फिल्म आजै प्ले गर्न सक्नुहुन्छ।