काठमाडौं । अभिनेता दयाहाङ राईको अभिनय रहेको फिल्म ‘बुकी फूल’ को छायाङ्कन पूरा भएको छ।
कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा मंगलबार अन्तिम दृश्य खिचेसँगै फिल्मको छायाङ्कन सकिएको हो।गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा तयार भइरहेको फिल्म ऐतिहासिक विषयवस्तुमा आधारित छ। अभियान फिल्म्स प्रोडक्सन प्रालि, पोखराको ब्यानरमा निर्माण भइरहेको यस फिल्मले गुरुङ समुदायको सभ्यता, संस्कृति र परम्परालाई कथाको मुख्य आधार बनाएको छ।
फिल्ममा दयाहाङ राईसँगै पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ र प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्।फिल्मको निर्देशन ओमप्रकाश गुरुङले गरेका हुन्। गुरुङ समुदायको मौलिक जीवनशैली, सांस्कृतिक पहिचान र ऐतिहासिक पक्षलाई चलचित्रमार्फत प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको हो।छायाङ्कन सम्पन्न भएसँगै फिल्म अब प्रदर्शनपूर्वको तयारीतर्फ अघि बढ्नेछ। यसको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।