काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नै पार्टीका सांसद केपी खनालको सञ्चार व्यवहारप्रति असन्तुष्टि जनाएकी छन्।
नियमित फोन कलमार्फत सम्पर्क गर्न खोज्दा पनि खनालले फोन नउठाउने गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी हुन्। तामाङका अनुसार एउटा जनसरोकारको विषयमा छलफल गर्न उनले सांसद खनाललाई फोन गरेकी थिइन्। तर, खनालको सट्टा उनका स्वकीय सचिवले फोन उठाएका थिए। खनालसँग कुरा गराइदिन आग्रह गर्दा स्वकीय सचिवले ह्वाट्सएपमा कल गर्न र त्यसबाहेकका सामान्य फोन कल खनालले नउठाउने जवाफ दिएको तामाङले उल्लेख गरेकी छन्।
स्वकीय सचिवको यस्तो जवाफले आफू आश्चर्यमा परेको बताउँदै तामाङले जनप्रतिनिधिसँग सर्वसाधारण नागरिकको सहज पहुँच हुनुपर्ने विषय उठाएकी छन्। उनले सामान्य मोबाइल प्रयोग गर्ने तथा इन्टरनेटको पहुँच नभएका नागरिकले आफ्ना समस्या र गुनासा जनप्रतिनिधिसमक्ष कसरी पुर्याउने भन्दै प्रश्न गरेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न, कम्युनिकेसन गर्न नेट चाहिँदो रहेछ भने जो सर्वसाधारण नागरिक टुकटुके मोबाइल चलाउनुहुन्छ, ती गरिब निमुखाले आफ्नो नेतासम्म गुनासो गर्न कसरी नेट चलाउन सक्नुहुन्छ ?’