काठमाडौं ।पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणलाई लिएर एमाले सांसद रामकुमारी झाँक्रीले सरकारमाथि प्रश्न उठाएकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै झाँक्रीले जबरालाई पक्राउ गर्नुको आधार र कारण सरकारले स्पष्ट पार्न नसकेको दाबी गरिन्। उनले उक्त घटनाले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न खडा गरेको बताइन्।झाँक्रीले कार्यकारी अधिकारको प्रयोग गर्दै सरकारले न्यायपालिका र व्यवस्थापिकामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्न खोजेको हुनसक्ने आशंका व्यक्त गरिन्। कुनै स्पष्ट आधार, प्रमाण वा कारणबारे जानकारी नदिई पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्य र विधिको शासनसँग सम्बन्धित प्रश्न भएको उनको भनाइ थियो।
उनले पछिल्लो घटनाक्रमलाई लिएर सरकार फाँसीवादतर्फ उन्मुख भएको संकेत देखिएको आरोपसमेत लगाइन्। साथै, राज्यका महत्वपूर्ण अंगबीच शक्ति सन्तुलन कायम हुनुपर्नेमा उनले जोड दिइन्।जबराको पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग संसद्मार्फत स्पष्ट जवाफ मागिनुपर्ने झाँक्रीको भनाइ छ। राष्ट्रिय सभाध्यक्षमार्फत सम्बन्धित पदाधिकारीलाई प्रश्न गर्दै घटनाको आधार, कारण र प्रक्रियाबारे जानकारी सार्वजनिक गर्नुपर्ने उनले माग गरिन्।पूर्वप्रधानन्यायाधीश जबरा केही दिनअघि काठमाडौंस्थित निवासबाट प्रहरी नियन्त्रणमा परेका थिए। प्रहरीले भने उनलाई सुरक्षाका कारण सुरक्षित स्थानमा लगिएको बताएको थियो। पछि उनी प्रहरी नियन्त्रणबाट मुक्त भएका थिए।