काठमाडौं । भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौं उपत्यकामा बिक्री–वितरण गर्ने समूहविरुद्धको अनुसन्धानका क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कारागारबाट फरार भएका एक व्यक्ति र भारतीय महिला रहेको प्रहरीले जनाएको छ।
ब्यूरोको टोलीले असोज १३ गते चन्द्रागिरी नगरपालिका–७, सतुङ्गलबाट लमजुङको बेँसीसहर नगरपालिका–२ का २७ वर्षीय विक्रम गुरुङलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र ७ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।गुरुङसँगको अनुसन्धानका क्रममा भारतको पश्चिम बंगालकी ५० वर्षीया प्रिया भुजेलसमेत पक्राउ परेकी छन्। प्रहरीले उनलाई असोज १४ गते चन्द्रागिरी–१२ बाट नियन्त्रणमा लिएको हो। उनको साथबाट १८२ ग्राम खैरो हेरोइन बरामद भएको बताइएको छ।
प्रहरीका अनुसार भुजेलले भारतको सिलिगुडीबाट काठमाडौंसम्म खैरो हेरोइन ल्याएर आपूर्ति गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।पक्राउ परेका गुरुङ यसअघि पनि लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। २०८१ असोज २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसम्बन्धी मुद्दामा उनी जगन्नाथदेवल कारागारमा थुनामा थिए। तर, जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएको प्रहरी अभिलेखमा उल्लेख रहेको छ।पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।