काठमाडौं । देशका विभिन्न भागमा भइरहेको निरन्तर वर्षाका कारण प्रतिकूल मौसम बनेपछि आन्तरिक हवाई सेवा प्रभावित भएको छ।
मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने दुर्गम तथा पर्वतीय क्षेत्रका अधिकांश उडानमा ढिलाइ भएको छ भने केही उडान रद्द भएका छन्।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शुक्रबार दुर्गम क्षेत्रतर्फका नियमित उडान र माउन्टेन फ्लाइट प्रभावित भएका हुन्। यति एयरलाइन्सको माउन्टेन फ्लाइट तथा सीता एयरको लुक्ला उडान रद्द भएको छ। बुद्ध एयर र श्री एयरलाइन्सका पर्वतीय उडान पनि सञ्चालन हुन सकेका छैनन्। नेपाल एयरलाइन्सको भोजपुर उडानसमेत रद्द भएको प्राधिकरणले जनाएको छ।
अन्य दुर्गम तथा पहाडी गन्तव्यका उडानहरू पनि मौसम खुलेको प्रतीक्षामा छन्। काठमाडौँबाट देशका प्रमुख सहरतर्फ सञ्चालन हुने ट्रंक रुटका उडान भने केही ढिलाइका साथ जारी रहेका छन्।शुक्रबार बिहानदेखि आन्तरिकतर्फ विभिन्न गन्तव्यमा १४ वटा उडान र दुईवटा अवतरण भएको विमानस्थलले जनाएको छ। पोखरा र भरतपुरसहित लुक्ला तथा फाप्लुका उडानसमेत मौसमका कारण प्रभावित भएका छन्।
यसको विपरीत अन्तर्राष्ट्रिय उडानमा भने हालसम्म उल्लेख्य असर परेको छैन। विमानस्थलका अनुसार बिहानदेखि १० वटा अन्तर्राष्ट्रिय विमान अवतरण र नौवटा उडान सम्पन्न भएका छन्।आन्तरिक उडानमा भएको ढिलाइका कारण त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेको छ।जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाकै कारण काठमाडौँलाई देशका विभिन्न क्षेत्रसँग जोड्ने प्रमुख सडकमार्गमा समेत यातायात प्रभावित भएको छ।पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्ड बन्द छन्। त्यस्तै हेटौँडा जोड्ने कान्ति लोकपथ तथा बनेपा–बर्दिवास जोड्ने बीपी राजमार्ग पनि अवरुद्ध रहेको अवस्था छ।