काठमाडौं । भारी वर्षाको सम्भावना रहेकाले काठमाडौं उपत्यकाका नदी आसपासका सडकमा यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार सूचना जारी गर्दै नदी किनार तथा छेउछाउका सडकमा सवारीसाधन पार्किङ नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो। कार्यालयका अनुसार देशका विभिन्न स्थानमा वर्षा भइरहेको र आगामी दिनमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्नेछ। त्यसैले नदीतटीय सडकमा आवतजावत गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
ट्राफिक प्रहरीले असोज १२ गतेसम्म नदी छेउछाउका सडकमा यात्रा गर्दा मौसम र सडकको अवस्थालाई ध्यान दिन तथा नदीतटमा सवारीसाधन पार्किङ नगर्न अनुरोध गरेको छ। देशभर वर्षा भइरहेको अवस्थामा सरकारले समेत आगामी तीन दिन भारी वर्षा हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिसकेको छ। प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।