काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारतको केराला घर भएका ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेका छन्। उनी बुधबार राति संयुक्त अरब इमिरेट्स ९यूएई० बाट नेपाल आएका थिए।विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार थोडीको साथबाट लुकाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको हो। प्रहरीले उनका भित्री कपडामा प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा सुन फेला पारेको जनाएको छ।पक्राउ परेका थोडीलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी सिलवालले जानकारी दिए।