काठमाडौं । मधेस प्रदेश सरकारले सीमा सुरक्षा तथा सुरक्षा व्यवस्थापनमा खटिँदै आएको सशस्त्र प्रहरी बललाई २० वटा मोटरसाइकल उपलब्ध गराएको छ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री फकिरा महतोले सशस्त्र प्रहरीका डीआईजी विष्णुप्रसाद भट्टलाई मोटरसाइकलका साँचो र आवश्यक कागजात हस्तान्तरण गरेकी हुन्।गृहमन्त्री महतोका अनुसार सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, चोरी–पैठारी तथा तस्करी नियन्त्रण र विपद्का बेला उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सवारीसाधन उपलब्ध गराइएको हो। प्रदेश सरकारको सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने नीतिअनुसार मोटरसाइकल हस्तान्तरण गरिएको उनले बताइन्।
मधेस प्रदेशका अधिकांश जिल्ला भारतसँग जोडिएका छन्। सीमा क्षेत्रमा भन्सार छली, चोरी–पैठारी तथा तस्करीका गतिविधि हुने गरेको भन्दै सुरक्षा निकायले निगरानी बढाउँदै आएको छ। सीमावर्ती मुख्य क्षेत्रमा कडाइ भएपछि ग्रामीण क्षेत्रतर्फबाट समेत अवैध गतिविधि हुन थालेको गुनासो आएपछि प्रहरीले त्यस्ता क्षेत्रमा निगरानी बढाएको जनाएको छ।यसअघि गृह मन्त्रालयले बुधबार प्रदेशका जिल्ला प्रहरी कार्यालयका लागि ३५ वटा मोटरसाइकल उपलब्ध गराएको थियो। मन्त्रालयका अनुसार थप १० वटा मोटरसाइकल आवश्यकता र स्थलगत अनुगमनका आधारमा पछि उपलब्ध गराइनेछ।