काठमाडौं ।नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेकी छन्।
बुधबार भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको विपद्को अवस्था र त्यसपछिको पुनर्स्थापनाबारे छलफल भएको हो।अमेरिकी दूतावासका अनुसार भेटका क्रममा बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका विषयमा कुराकानी भएको थियो। बोल्डिनले विपद्बाट प्रभावित नेपाली समुदायलाई सहयोग जारी राख्न अमेरिका प्रतिबद्ध रहेको बताएकी छन्।बाढी तथा अन्य विपद्का क्रममा बेपत्ता भएका अमेरिकी नागरिकको खोजी कार्यलाई पनि निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।
दूतावासका अनुसार अमेरिकाले नेपालका बाढी तथा विपद् प्रभावित समुदायको सहयोगका लागि हालसम्म ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराएको छ। उक्त सहयोगबाट स्थायी पुल, खानेपानी तथा सरसफाइ, आश्रय, जीविकोपार्जन, जाडोयामका सामग्री र विपद् प्रतिकार्यका उपकरणलगायत क्षेत्रमा काम गरिएको बताइएको छ।भेटका क्रममा नेपालमा कार्यरत अमेरिकी कम्पनीका लागि व्यावसायिक वातावरण सुधार गर्न सरकारले गरिरहेको प्रयासप्रति पनि बोल्डिनले प्रधानमन्त्री वाग्लेलाई धन्यवाद दिएकी छन्। साथै नेपालमा अमेरिकी लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण थप मजबुत बनाउने विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ।