काठमाडौं ।अर्थमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको सञ्चालन र लगानी प्रक्रियामा पारदर्शिता, व्यावसायिकता तथा जोखिम नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले कोषलाई समयअनुकूल र प्रभावकारी बनाउन आवश्यक सुधार अघि बढाइने बताए।उनका अनुसार नागरिक लगानी कोष सर्वसाधारणको बचत र भविष्यसँग प्रत्यक्ष जोडिएको संस्था भएकाले यसको व्यवस्थापनमा विशेष सावधानी आवश्यक छ। कोषको लगानीको क्षेत्र विस्तार गर्नुका साथै संस्थागत क्षमता सुधार गर्ने विषयमा सरकार सकारात्मक रहेको उनले बताए।
वाग्लेले देशको ठूलो लगानी आवश्यकता पूरा गर्न आन्तरिक बचतसँगै बाह्य स्रोतको समेत उचित परिचालन आवश्यक रहेको उल्लेख गरे। सार्वजनिक संस्थामार्फत हुने लगानीमा जोखिमको सीमा स्पष्ट गर्ने र स्वार्थ बाझिने अवस्था रोक्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
सार्वजनिक संस्थाका पदाधिकारीलाई थप उत्तरदायी बनाउने, डिजिटल प्रविधिको प्रयोग बढाउने तथा संस्थागत सुधारलाई विधेयकमार्फत अघि बढाउने सरकारको तयारी रहेको पनि अर्थमन्त्री वाग्लेले संसद्लाई जानकारी गराए।