काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा युवा नेता तथा इन्जिनियर निरोज लामिछानेले युवा खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पोखरा–२८, कास्की स्थायी घर भएका लामिछाने हाल पोखरा–२६ मा बसोबास गर्दै आएका छन्। नेपाल विद्यार्थी संघको सक्रिय यात्राबाट कांग्रेसको राजनीतिमा जोडिएका उनी लामो समयदेखि पार्टीका संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएको बताएका छन्। लामिछाने नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको तर्फबाट नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशमा निर्वाचित भएर जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।
१५औँ महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै लामिछानेले बदलिँदो समयअनुसार कांग्रेसको संगठनलाई युवा, प्रविधिमैत्री, गतिशील, समावेशी र जनमुखी बनाउनुपर्ने धारणा अघि सारेका छन्। युवाको ऊर्जा र अग्रजको अनुभवलाई प्रविधिसँग जोड्दै पार्टीलाई नयाँ पुस्तासँग थप नजिक बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ। उनले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको विषय नभई युवाका आवाजलाई पार्टीको नीति, नेतृत्व र निर्णय प्रक्रियासम्म पुर्याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। लामिछानेले कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूसँग मत, साथ, सुझाव र विश्वासका लागि आग्रह गरेका छन्।