काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको कार्यक्रम बीचमै छाडेर बाहिरिएका छन् ।
शनिबार काठमाडौंको नयाँ बजारमा आयोजित कार्यक्रममा वक्ताहरूको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङले आफ्नो कार्यव्यस्तता रहेको भन्दै कार्यक्रमबाट बाहिरिएका हुन् । गृहमन्त्री कार्यक्रमस्थलबाट बाहिरिएपछि केही समय आयोजकहरू अन्योलमा परेका थिए । कार्यक्रम चलिरहेका बेला उनी बाहिरिएका थिए । कार्यक्रमबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखासहित हिमाली तथा दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएका समस्यालाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने बताए ।
उनले भौगोलिक विकटता, सडक तथा यातायातको अभावका कारण हिमाली क्षेत्रका नागरिकले दैनिक रूपमा समस्या झेल्नुपरेको उल्लेख गरे । आगामी दिनमा यस्ता क्षेत्रको सडक निर्माण तथा आवश्यक बजेट व्यवस्थापनमा सरकारले विशेष ध्यान दिने उनको भनाइ थियो देशका विभिन्न स्थानमा नागरिकले भोगिरहेका समस्यालाई वर्तमान सरकारले प्राथमिकतामा राखेर समाधानतर्फ अघि बढिरहेको गृहमन्त्री गुरुङले बताए ।