काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान खोजिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ।
विमानस्थलको प्रस्थान कक्षमा यात्रुको ब्यागेज एक्सरेमार्फत जाँच गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि थप अनुसन्धान गरिएको थियो। त्यस क्रममा विभिन्न ब्रान्डका चुरोट र सुर्तीजन्य सामग्री फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।प्रहरीका अनुसार शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका ७२ बन्डल अर्थात् ७ सय २० प्याकेट चुरोट बरामद भएको छ। यस्तै, जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ पनि नियन्त्रणमा लिइएको छ।बरामद सामग्री आवश्यक कानुनी प्रक्रियाका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।विमानस्थलबाट हुने अवैध ओसारपसार तथा निकासी रोक्न सुरक्षा जाँचलाई थप कडाइका साथ निरन्तरता दिइने विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।