काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले महिला हिंसा तथा मदिरा र लागुपदार्थको बढ्दो प्रयोगबाट निम्तिएका घटनालाई गम्भीर रूपमा लिन सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद बिकले सुर्खेतको चौकुने गाउँपालिकामा भएको एक घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै महिलाको सुरक्षा र परिवारमाथि पर्ने असरबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।उनका अनुसार चौकुने गाउँपालिका–६ मा गोपीराम जैसीले आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीमाथि कुटपिट तथा प्रहार गर्दा उनको मृत्यु भएको छ। घटनामा उनीहरूका दुई छोरीसमेत घाइते भएको र एक छोरा भागेर ज्यान जोगाउन सफल भएको उनले संसद्लाई जानकारी गराइन्।
सांसद बिकले मदिरा तथा लागुपदार्थको दुरुपयोगले घरेलु हिंसा र अपराध बढाउन सक्ने भन्दै यसको नियन्त्रणका लागि स्थानीय तहदेखि नै प्रभावकारी कदम चाल्नुपर्ने बताइन्।उनले पीडित परिवार तथा घाइते छोरीहरूको उपचार र आवश्यक संरक्षणको व्यवस्था गर्न, घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा घरेलु मदिराको उत्पादन र बिक्रीवितरणमा प्रभावकारी नियमन गर्न सरकारसँग माग गरिन्।युवालाई लागुपदार्थको कुलतबाट जोगाउन र मदिराको दुरुपयोगबाट हुने हिंसा न्यूनीकरण गर्न सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिइन्।