काठमाडौं ।नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक निर्धारित समयभन्दा थप लम्बिने भएको छ।
यसअघि बुधबार नै बैठक टुंग्याउने तयारी रहे पनि कार्यसूचीलाई लिएर नेताहरूबीच असहमति देखिएपछि बैठक थप एक दिन लम्ब्याउने सहमति भएको हो।अब एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार मात्रै समापन गर्ने तयारी गरिएको छ। बैठककै बीचमा बुधबार बिहान पार्टी सचिवालयको बैठकसमेत बोलाइएको छ।एमालेका एक नेताका अनुसार सचिवालय बैठकले अहिले चलिरहेको केन्द्रीय कमिटी बैठकका लागि प्रस्तावित कार्यसूचीलाई औपचारिक रूपमा अनुमोदन गर्नेछ। पार्टीले यसअघि नै नौ वटा विषयलाई कार्यसूचीमा समेटेको भए पनि त्यसको औपचारिक अनुमोदन हुन बाँकी थियो।
सचिवालय बैठकबाट कार्यसूची पारित भएपछि बुधबार दिउँसो १ बजेदेखि केन्द्रीय कमिटीको छलफल पुनः अघि बढाउने तयारी छ।सोमबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले लामो समयपछि बैठक बसेकाले आफूहरूलाई पर्याप्त समय दिनुपर्ने माग राखेका थिए। धेरै नेताले धारणा राख्न इच्छुक भएकाले निर्धारित समयभित्र सबै विषयमा छलफल गर्न कठिन हुने भन्दै अध्यक्ष केपी शर्मा ओलीसमक्ष समय थप गर्न आग्रह गरेका थिए।यस विषयमा महासचिव शंकर पोखरेलले सोमबारको बैठकपछि अध्यक्ष ओलीलाई जानकारी गराएका थिए। त्यसका लागि उनी अध्यक्ष ओलीको भक्तपुरस्थित गुण्डु निवास पुगेका थिए।बैठकको पहिलो दिन अध्यक्ष ओलीले ७८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा नेतृत्व परिवर्तन तथा पार्टी पुनर्गठनसम्बन्धी विषय समेटिएको छैन।एमालेभित्र पछिल्लो निर्वाचनपछि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषयमा बहस हुँदै आएको थियो। तर अध्यक्ष ओलीले विशेष महाधिवेशन तथा नेतृत्व पुनर्गठनको विषय अघि नबढाएपछि यी मुद्दा हालको प्रतिवेदनमा प्राथमिकतामा नपरेको बताइएको छ।