काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद खगेन्द्र सुनारले सिंहदरबारस्थित संसद् सचिवालयको क्यान्टिनमा राखिएको महँगो मूल्यप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले संसद् परिसरकै क्यान्टिनमा सामान्य चिया–खाजाका लागि समेत अत्यधिक रकम लिइएको भन्दै संसद् सचिवालयको ध्यानाकर्षण गराए।सांसद सुनारले कालो चियाको मूल्य १ सय रुपैयाँ र ममको मूल्य ३ सय रुपैयाँ तोकिएको विषय उठाउँदै यस्तो मूल्य सांसद तथा कर्मचारीका लागि समेत सहज नभएको बताए।
उनले संसद् सचिवालयमा कार्यरत सामान्य कर्मचारी र मर्यादा पालकहरूको सीमित आम्दानीलाई समेत ध्यानमा राखेर क्यान्टिनको मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिए। सांसदहरूले समेत महँगो भएकै कारण क्यान्टिनमा खाजा खान कठिन हुने अवस्था रहेको उनको भनाइ थियो।सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा मूल्यमा एकरूपता कायम गर्नुपर्ने माग गर्दै सुनारले आम नागरिक तथा कर्मचारीको आर्थिक अवस्थालाई ध्यानमा राखेर चिया–खाजाको दर निर्धारण गर्न आग्रह गरे।उनले संसद् परिसरमा धेरै क्यान्टिन सञ्चालन गर्नुभन्दा भएका क्यान्टिनमा सबैको पहुँच हुने गरी उचित मूल्य कायम गर्नुपर्ने धारणा राखे।