काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकारमाथि टिप्पणी गर्दै विपद्का बेला बेलीब्रिज निर्माणका विषयमा जनतालाई भ्रमित पार्ने गरी प्रचार गरिएको आरोप लगाएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा बोल्दै ओलीले भदौ १० गतेको विपद्का समयमा राज्य संयन्त्रबाटै गलत सूचना र अफवाह फैलाइएको दाबी गरे। सरकारको कार्यक्षमता र राज्यका स्रोत–साधनको प्रयोगबारे जनताले प्रश्न उठाउने अवस्था बनेको उनको भनाइ थियो।ओलीले बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री नै नपुगेको अवस्थामा पुल तयार भएको भन्दै प्रचार गरिएको आरोप लगाए। उनका अनुसार बेलीब्रिजको तयारीसँग सम्बन्धित एआईबाट तयार गरिएको नक्सासमेत सार्वजनिक रूपमा वितरण गरिएको थियो।
उनले पुल निर्माणको वास्तविक अवस्थाभन्दा फोटो खिच्ने र प्रचार गर्ने कामलाई प्राथमिकता दिइएको टिप्पणी गरे। एउटा खोलामा राखिएको बेलीब्रिजलाई त्रिशूली नदीमा राखिएको भन्दै प्रचार गरिएको र पछि अर्कै स्थानमा पुल राखिए पनि त्रिशूलीकै पुलका रूपमा फोटो सार्वजनिक गरिएको ओलीको दाबी थियो।ओलीले त्रिशूलीमा अहिलेसम्म बेलीब्रिज निर्माण नभएको दाबी गर्दै सरकार विपद्मा परेका नागरिकलाई सहयोग गर्न चुकेको आरोप लगाए।यद्यपि, उनले सीमित स्रोतसाधनका बीच उद्धार तथा राहतमा खटिएका बागमती प्रदेश सरकार र स्थानीय तहहरूको प्रशंसा गरे। विपद्का समयमा एमालेका स्वयंसेवकहरूले प्रभावित नागरिकलाई सहयोग पुर्याउन उल्लेखनीय भूमिका खेलेको उनको भनाइ थियो।