काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी प्रत्येक केन्द्रीय सदस्यले आफ्नो धारणा राख्न तीन मिनेटको समय पाउने भएका छन्।
बैठकको सुरुवातमा अध्यक्ष केपी शर्मा ओलीले बोल्ने समय निर्धारण गरिएको जानकारी गराएका हुन्।अध्यक्ष ओलीले तोकिएको समयभित्र आफ्ना सबै विषय राख्न नसक्ने सदस्यले लिखित रूपमा सुझाव तथा धारणा बुझाउन सक्ने बताए। उनले आफूले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन अध्ययनका लागि सोमबारको बैठक छोटो समयमै टुंग्याउने र त्यसपछि छलफल अघि बढाउने जानकारी दिए।प्रतिवेदन अध्ययन गरेपछि छलफलमा सहभागी हुने नेताहरूलाई विषयमा केन्द्रित भएर धारणा राख्न ओलीले आग्रह गरेका छन्।
बैठकको अनुशासनबारे जानकारी दिँदै ओलीले मंगलबारदेखि बैठक कक्षमा मोबाइल फोन नल्याउन निर्देशन दिएका छन्। बैठकस्थलमा मोबाइलबाट फोटो खिच्ने, भिडियो बनाउने, रेकर्ड गर्ने वा प्रत्यक्ष प्रसारण गर्नसमेत रोक लगाइएको उनले बताए।त्यस्तै, बैठकका क्रममा आफ्नो स्थानबाट उठ्दा वा बोल्न चाहँदा अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।ओलीले केन्द्रीय सदस्यहरूलाई मर्यादित, स्वस्थ र संगठनात्मक विधिअनुसार छलफलमा सहभागी हुन आग्रह गर्दै एमालेको काँधमा विभिन्न जिम्मेवारी रहेको बताए। जनतामा उत्पन्न भएका भ्रमहरूलाई स्पष्ट पार्दै पार्टीले अघि बढ्नुपर्ने उनको भनाइ थियो।