काठमाडौं ।नेकपा एमालेले आगामी केन्द्रीय कमिटी बैठकमा छलफल हुने विषयहरू टुंगो लगाएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पाँचवटा प्रमुख एजेण्डा निर्धारण गरेको हो।एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा सदस्यहरूले छलफल गर्ने तय भएको छ।त्यस्तै, पार्टीका विभिन्न कमिटीमा आवश्यक मनोनयनसम्बन्धी विषयलाई पनि बैठकको एजेण्डामा समेटिएको छ।
सचिवालय बैठकले निर्वाचनको समीक्षा तथा पार्टी पुनर्जागरणसँग सम्बन्धित विषय समेटिएको एकीकृत प्रतिवेदनसमेत अनुमोदन गरेको छ। उक्त कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।