काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले बजारमा खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
उनले ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुको अभावले नागरिकलाई थप समस्यामा पारेको भन्दै सरकारसँग जवाफ मागेकी हुन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सरकारले नागरिकलाई भोकै बस्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताइन्। उनले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्। जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनामाथि उभिएर सरकारले नागरिकमाथि थप पीडा थपिरहेको आरोप पनि उनले लगाइन्। ‘नैतिकता’को कुरा गर्ने सरकारले आन्दोलनपछि बनेको परिस्थितिमा नागरिकका आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेको उनको भनाइ थियो।
बरालले सरकारको ग्यास आपूर्तिसम्बन्धी अवस्थालाई जर्मनीका तानाशाह एडोल्फ हिटलरको ग्यास च्याम्बरमा मानिस मारिएको घटनासँग तुलना गर्दै बालेन्द्र नेतृत्वको सरकारमाथि तीव्र आलोचना गरिन्। उनका अनुसार, नागरिकलाई खाना पकाउने ग्याससमेत उपलब्ध नगराउनु गम्भीर विषय हो। उनले विगतमा सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाउनेहरू नै अहिले सरकारमा रहेको भन्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाइन्। ‘जनतालाई भोकै नमारियोस्’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।सांसद बरालले एक साताभित्र एलपी ग्याससहित अत्यावश्यक उपभोग्य सामग्रीको आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन दिन सभामुखसमक्ष आग्रहसमेत गरिन्।