काठमाडौं ।नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा आफ्नो जिम्मेवारीअनुसार काम गरेर परिणाम देखाउन आग्रह गरेकी छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै देवकोटाले विपद् व्यवस्थापन, पुनर्निर्माण, रोजगारी सिर्जना, प्रविधिको विकास र अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताइन्।विज्ञान तथा प्रविधिको क्षेत्रमा सक्रिय मन्त्री पुनको सामाजिक सञ्जालमा देखिएको सक्रियताप्रति संकेत गर्दै उनले अनलाइन बहसमा समय खर्च गर्नुभन्दा नयाँ प्रविधि र आविष्कारका क्षेत्रमा ऊर्जा लगाउनुपर्ने धारणा राखिन्।
गृहमन्त्रीले पनि भाषण तथा प्रतिवादमा केन्द्रित हुनुभन्दा देशमा हुने हत्या, हिंसा र आपराधिक गतिविधि नियन्त्रण गर्न ठोस काम गर्नुपर्ने देवकोटाले बताइन्। गृहमन्त्रीले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिपछि गरिने पुनर्निर्माणमा विगतका कमजोरीबाट पाठ सिक्नुपर्नेमा उनले जोड दिइन्। नदी किनार तथा करिडोर क्षेत्रमा बस्ती र ठूला संरचना निर्माण गर्दा भौगोलिक जोखिमको पर्याप्त अध्ययन नभएको हुन सक्ने भन्दै अब पुनर्निर्माण गर्दा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने उनले बताइन्।
नेपालको भौगोलिक विविधतालाई ध्यानमा राखेर मध्यपहाडी क्षेत्रमा ऊर्जा तथा भौतिक पूर्वाधार विकासको सम्भावनालाई समेत योजनामा समेट्नुपर्ने उनको सुझाव थियो।देशमा देखिएको वस्तु अभाव र मूल्यवृद्धिको समस्या राजनीतिक आरोप–प्रत्यारोपबाट समाधान नहुने भन्दै देवकोटाले आपूर्ति प्रणाली व्यवस्थित बनाउन र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।पुनर्निर्माणका क्रममा देशमै उपलब्ध विज्ञ, प्राविधिक तथा दक्ष जनशक्तिको अधिकतम उपयोग गर्नुपर्ने बताउँदै उनले सरकार र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन्। संसद्लाई केवल आलोचना र विवादको थलो नभई जनताका समस्या उठाउने तथा राष्ट्र निर्माणमा केन्द्रित हुने प्रभावकारी मञ्च बनाउनुपर्ने उनको भनाइ थियो।