काठमाडौं ।उदयपुरगढी गाउँपालिका–७ अधेरीमा ट्रक र यात्रुबाहक हायस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।
बुधबार बिहान भएको दुर्घटनामा हायसका चालक र सहचालकसहित यात्रुहरू घाइते भएका हुन्।प्रहरीका अनुसार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना।७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा।४ ख ५६३५ नम्बरको हायस अधेरी सडकखण्डमा आपसमा ठोक्किएका थिए।दुर्घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको नेतृत्वमा १५ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको जनाएको छ।दुर्घटनामा घाइते भएकामध्ये आठ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा रिफर गरिएको छ। अन्य घाइतेको उपचार जिल्ला अस्पताल उदयपुरमै भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।