काठमाडौं ।अग्रगामी मोर्चानिकट अग्रगामी युवा मोर्चाले बजारमा बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारमाथि दबाब सिर्जना गर्ने भएको छ।
मोर्चाले आगामी असोज ६ गते काठमाडौंस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने घोषणा गरेको छ। आम जनता पार्टीको काठमाडौंस्थित कार्यालयमा मंगलबार बसेको बैठकले आन्दोलनको कार्यक्रम तय गरेको हो।मोर्चाले लामो समयदेखि एलपी ग्याससहित दैनिक उपभोग्य वस्तुको अभाव देखिए पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको आरोप लगाएको छ। अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न तथा बजार मूल्य नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उसको माग छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन र ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने मोर्चाको भनाइ छ। आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत उसले दिएको छ।मोर्चाले प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाह नेतृत्वको सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको जनाएको छ। बढ्दो महँगी, कालोबजारी र सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
यस्तै, भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो क्षति भएको उल्लेख गर्दै मोर्चाले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाएको छ। बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, उचित राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि एकीकृत पहल गर्न माग गरिएको छ।
भ्रष्टाचार तथा प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै पारदर्शी शासन व्यवस्था कायम गर्नुपर्ने माग पनि मोर्चाले अघि सारेको छ। त्यस्तै, स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा ठूलो संख्यामा युवा विदेशिन बाध्य भएको भन्दै वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियाको गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ।
मोर्चाले आफ्ना मागप्रति सरकारले तत्काल ध्यान नदिए देशभर थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।आन्दोलनका कार्यक्रमसम्बन्धी निर्णयमा समाजवादी युवा सङ्घ नेपाल, समाजवादी युवा सङ्गठन, विद्यार्थी जनमत सङ्घ, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, आईटी आर्मी, आम विद्यार्थी मोर्चा, समाजवादी विद्यार्थी युनियन नेपाल, कमन जेनजी नेपाल र युवा सङ्गठनलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ।