काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।
मंगलबार सभामुखको कार्यकक्षमा भएको भेटमा रसुवास्थित भोटेकोशी नदीमा आएको ठूलो बाढीबाट भएको क्षतिका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।भेटमा बाढीको अवस्था तथा घटनाका कारणबारे अध्ययन गर्न आवश्यक छानबिनसहित संसदीय समिति गठन गर्ने विषय उठाइएको थियो। बाढीबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गरी आवश्यक कदम चाल्नुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ।त्यसैगरी प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने विषयमा समेत सभामुख र आङ्देम्बेबीच कुराकानी भएको सचिवालयले जनाएको छ।