बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा झापाको बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३.०’ हुने भएको छ।
अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा आबद्ध संस्थाहरूको नेतृत्व क्षमता विकास, संस्थागत सुदृढीकरण तथा राष्ट्रिय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। इक्यान झापा शाखाले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आगामी असोज २ देखि ४ गतेसम्म हुने कार्यक्रमको आतिथ्य आफूले गर्ने जानकारी दिएको हो। इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीका अनुसार देशभरका इक्यान नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो।
यसअघि पहिलो संस्करण इक्यान चितवन शाखाको आतिथ्यमा र दोस्रो संस्करण इक्यान मकवानपुर शाखाको आतिथ्यमा सम्पन्न भएको थियो। सोही निरन्तरतामा तेस्रो संस्करण आयोजना गर्ने जिम्मेवारी इक्यान झापा शाखाले पाएको हो। कार्यक्रममा इक्यान केन्द्र, विभिन्न शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित देशभरबाट करिब १५० जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। नेतृत्व विकास, संस्थागत सुशासन, सञ्चार सीप, वित्तीय व्यवस्थापन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ।
इक्यानका अनुसार नेपालमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र विस्तार हुँदै जाँदा विद्यार्थीको विदेश अध्ययन, गन्तव्य छनोट, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्बन्ध, विद्यार्थी मोबिलिटी, डिजिटल प्रविधि तथा विभिन्न मुलुकका बदलिँदा शिक्षा र अध्यागमन नीतिले यस क्षेत्रमा थप चुनौती र जिम्मेवारी सिर्जना गरेको छ। इक्यानमा हाल ७५० भन्दा बढी सदस्य संस्था आबद्ध रहेको केन्द्रीय द्वितीय सचिव आशिक कार्कीले जानकारी दिए। काठमाडौंमा केन्द्रित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका अनुभव, गतिविधि र अवसरलाई प्रदेश तथा जिल्लास्तरका शैक्षिक बजारसँग जोड्दै विकेन्द्रीकृत संस्थागत नेतृत्व विकासलाई इक्यानले प्राथमिकतामा राखेको उनले बताए।
लिडर्स मिट ३.० मा ‘ग्लोबल एजुकेशन मोबिलिटी’ मा नेपालको भूमिका र अवस्थाबारे समेत छलफल हुने भएको छ। कार्यक्रमबाट प्राप्त निष्कर्षलाई समेटेर ‘झापा घोषणापत्र’ जारी गरिने इक्यान झापाका निवर्तमान अध्यक्ष रोशन सुवेदीले जानकारी दिए। घोषणापत्रमा ग्लोबल एजुकेसन मोबिलिटीमा नेपालको वर्तमान अवस्था, सम्भावना, चुनौती, राष्ट्रिय हित तथा आगामी दिशाबारे इक्यानको संस्थागत धारणा समेटिनेछ। विद्यार्थी हित, नैतिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा नीति निर्माणमा सहभागितालगायतका विषयलाई घोषणापत्रमा प्राथमिकता दिइने आयोजकले जनाएको छ।
लिडर्स मिटले इक्यानको केन्द्र र शाखाबीचको सम्बन्ध, समन्वय तथा सञ्चारलाई थप प्रभावकारी बनाउँदै साझा रणनीतिक दिशामा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागी नेतृत्वले आफ्ना क्षेत्रका चुनौती, अनुभव र सफल अभ्यास आदानप्रदान गर्ने इक्यान झापा शाखाका उपाध्यक्ष अशोक भण्डारीले बताए। इक्यान झापा शाखाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्की प्रमुख अतिथि रहेका थिए। कार्यक्रम सञ्चालन उपाध्यक्ष अशोक भण्डारीले गरेका थिए।