काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले सरकारले ल्याउन लागेको (शैक्षिक परामर्श नियमावली, २०८३)लाई सकारात्मक पहलका रूपमा स्वागत गर्दै सरोकारवालाको सुझाव समेटेर केही प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्।
‘प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ के यसले शैक्षिक परामर्श क्षेत्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छ ?’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली शैक्षिक परामर्श व्यवसायी विदेशमा विद्यार्थी पठाउने काममा मात्र सीमित नभई भविष्यमा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्न पनि सक्षम रहेको बताए। उनका अनुसार इक्यानले विगत एक दशकदेखि नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउने उद्देश्यसहित निरन्तर पहल गर्दै आएको छ। त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सरकारसँग बारम्बार आग्रह गरिएको उनले बताए।
‘हामीले वर्षौंदेखि नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्नुपर्ने आवाज उठाउँदै आएका छौँ। त्यसका लागि आवश्यक व्यवस्था ऐन र नियमावलीमै समेटिए शैक्षिक परामर्श क्षेत्र अझ व्यवस्थित र प्रभावकारी बन्न सक्छ। नियमावली आउनु सकारात्मक हो, तर केही प्रावधानमा संशोधन आवश्यक छ भन्ने हाम्रो धारणा हो,’ उनले भने। अध्यक्ष पौडेलले सरकारले पनि नेपाललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यलाई नीतिगत रूपमा अघि बढाइरहेको उल्लेख गर्दै नियमावली तयार गर्दा शैक्षिक परामर्श क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल गरिए यसको प्रभावकारिता अझ बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेकपा (एमाले)की सांसद साजिदा सिद्दीकीले शिक्षा, बाल संरक्षण तथा युवा संरक्षणका क्षेत्रमा देखिएका चुनौतीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताइन्। नेपालको शिक्षा प्रणाली, आर्थिक अवस्था र विदेशको शैक्षिक तथा आर्थिक परिवेशबीच पर्याप्त सन्तुलन नभएको उल्लेख गर्दै उनले यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणमा राज्यले ध्यान दिनुपर्ने धारणा राखिन्। उनले देशभित्रको शिक्षा प्रणालीलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै विद्यार्थी तथा युवाको हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार शिक्षा सुधारसँगै युवाको भविष्य सुरक्षित बनाउने रणनीति अवलम्बन गर्नु अहिलेको आवश्यकता हो।