काठमाडौँ । नेपालको शिक्षा प्रणालीलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच सहकार्यको सम्झौता भएको छ।
सम्झौताअनुसार हिसान क्यान महासंघको ‘सस्टेनेबिलिटी पार्टनर’का रूपमा आबद्ध भएको छ। दुवै संस्थाले संयुक्त रूपमा देशका सातवटै प्रदेशमा शिक्षकहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यशाला सञ्चालन गर्नेछन्। यस अभियानको मुख्य उद्देश्य शिक्षकहरूको डिजिटल क्षमता अभिवृद्धि गर्दै विद्यालय तथा कलेजहरूमा प्रविधिमैत्री शिक्षण वातावरण विकास गर्नु रहेको जनाइएको छ।
विद्यार्थीलाई प्रविधिको प्रयोगकर्तामात्र नभई नवप्रवर्तनकर्ता र सिर्जनाकर्ताका रूपमा विकास गर्न शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्। क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यक्रममा क्यान महासंघ र हिसानका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। दुवै संस्थाले यो सहकार्यले शैक्षिक क्षेत्र र प्रविधि विकासबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।