काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको आवासीय बैठक आज निष्कर्षमा पुग्ने तयारी गरिएको छ ।
काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा दुई दिनदेखि जारी बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव शङ्कर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर साझा दस्तावेज तयार गर्ने विषयमा छलफल भइरहेको छ ।एमाले सचिवालयले गत जेठ १० गते थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट पार्टीका नेता तथा कार्यकर्ताको सुझाव सङ्कलन गरेपछि त्यसका आधारमा प्रतिवेदन तयार पार्ने जिम्मेवारी महासचिव पोखरेललाई दिइएको थियो ।
पोखरेलले तयार पारेको प्रतिवेदनप्रति संयोजक थापाले फरक धारणा राख्दै छुट्टै प्रतिवेदन प्रस्तुत गरेपछि कार्यदलभित्र मतभेद देखिएको थियो । त्यसपछि भदौ २६ गते च्यासलमा बसेको कार्यदल बैठकले दुवै प्रतिवेदनलाई समेटेर एउटै निष्कर्षमा पुग्ने निर्णय गरेको थियो ।पार्टी पुनर्गठन र वर्तमान नेतृत्वका विषयमा एमाले नेताहरूबीच भने फरक धारणा देखिएको छ । थापा नेतृत्वलाई मात्रै दोषी ठहर गरेर हटाउने पक्षमा नरहेको बताइन्छ भने पोखरेलले कार्यकर्ताको चाहना र सुझावका आधारमा आवश्यक निर्णय लिनुपर्ने धारणा राख्दै आएका छन् ।
कार्यदल सदस्य तथा एमाले सचिव डा। राजन भट्टराईका अनुसार दुवै पक्षका धारणा समेटेर साझा प्रतिवेदन तयार गर्ने उद्देश्यले बैठक भइरहेको हो । बैठक सोमबार साँझसम्म टुंग्याउने तयारी गरिएको उनले जानकारी दिएका छन् ।