काठमाडौं । सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम र स्वरूप प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रीन आर्मी’लाई सरकारले नाम परिवर्तन गर्न निर्देशन दिएको छ।
कम्पनी रजिस्ट्रारको कार्यालयले शुक्रबार पत्र पठाउँदै संस्थालाई ३५ दिनभित्र आफ्नो नाम परिवर्तन गर्न समय दिएको हो। कार्यालयका अनुसार तोकिएको समयभित्र नाम परिवर्तन नगरेमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाइनेछ।कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार तथा सूचना अधिकारी रामप्रसाद ज्ञवालीका अनुसार संस्थाविरुद्ध परेको उजुरी र कम्पनी ऐनमा रहेको व्यवस्थाका आधारमा यस्तो निर्देशन दिइएको हो।निर्देशनको बेवास्ता गरेमा कम्पनीलाई रोक्का राख्नेदेखि अन्य प्रशासनिक तथा कानुनी प्रक्रिया अघि बढाउन सकिने कार्यालयले जनाएको छ।
कम्पनी ऐन, दुई हजार त्रिसट्ठीअनुसार कार्यालयले दिएको निर्देशन पालना गर्नु कम्पनीका सञ्चालक तथा पदाधिकारीको दायित्व हुन्छ। निर्देशन अटेर गरेमा सम्बन्धित कानुनी प्रावधानअनुसार कारबाही हुन सक्ने व्यवस्था छ।त्यस्तै, बदनियतपूर्वक कानुन वा कार्यालयको निर्देशन उल्लङ्घन गर्ने सञ्चालक वा पदाधिकारीलाई बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना, दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको कार्यालयले जनाएको छ।