काठमाडौं ।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद आशिका तामाङले बजारमा खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यासको अभावका कारण सर्वसाधारण समस्यामा परेको बताइन्। उनका अनुसार बजारका केही पसलमा ग्यास रहे पनि व्यवसायीले बिक्री नगरेको भन्दै नागरिकबाट आफूलाई लगातार गुनासो आउने गरेको छ।सांसद तामाङले सरकारभन्दा ग्यास व्यवसायमा संलग्न माफिया शक्तिशाली भएको हो कि भन्दै प्रश्नसमेत गरिन्। जनताले खाना पकाउन दाउरा खोज्नुपर्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ छ।उनले ग्यासको लाइन लामो भइरहँदा सरकार भने मन्त्री परिवर्तनमै व्यस्त भएको भन्दै व्यंग्य गरिन्। पटक–पटक मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीको लाइन लामो हुने उनको टिप्पणी थियो।यदि वास्तवमै बजारमा ग्यासको अभाव रहेको हो भने सरकारले त्यसबारे स्पष्ट जानकारी सार्वजनिक गरी नागरिकलाई वास्तविक अवस्था बताउनुपर्ने तामाङले बताइन्।उनले ग्यास आपूर्ति तत्काल सहज बनाउन तथा कालोबजारी वा कृत्रिम अभाव भएको भए त्यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।