काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानी बाहिर रहेका उद्योगबाटै सिलिन्डरमा ग्यास भरेर पठाउन थालिएको छ।
ग्यास बोकेका बुलेटहरू वैकल्पिक मार्ग हुँदै समेत काठमाडौं पुग्न कठिन भएपछि नेपाल आयल निगमको अनुमतिमा विभिन्न उद्योगले उपत्यका बाहिरै ग्यास ‘बोटलिङ’ गरी ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन्। साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ। बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार चितवनस्थित बाबा ग्यास उद्योगले मात्रै श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको थियो। धादिङको नौबिसेमा रहेको श्री ग्यासको प्लान्टबाट पनि आपूर्ति भइरहेको छ। त्यस्तै, चितवनको साइबाबा ग्यासले ९ सय सिलिन्डर काठमाडौं पठाएको छ भने नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका लागि १ हजार २ सय सिलिन्डर भरेर पठाएको छ। यसैगरी गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंका एभरेष्ट र सुगम ग्यास भरेर पठाइएको छ। राजधानी बाहिरका अन्य उद्योगले पनि काठमाडौंका विभिन्न ब्रान्डका सिलिन्डरमा ग्यास भरेर आपूर्ति सुरु गरेका छन्। सञ्चालक कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यास उद्योगमा तथा बनेपाका लोकप्रिय, सुपर, तारा लगायतका उद्योगले राजधानी बाहिरका विभिन्न उद्योगसँग समन्वय गरी सिलिन्डरमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाइरहेका छन्। उनका अनुसार भारतबाट नेपाल आउने ग्यासको आपूर्तिमा कमी आएको छैन।
तर, सडक अवरोधका कारण बुलेट उद्योगसम्म पुर्याउन नसक्ने अवस्था रहेकाले वैकल्पिक रूपमा अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाउने व्यवस्था गरिएको हो। यसले उपत्यकामा ग्यास अभाव हुन नदिने उनको भनाइ छ। कालाखेतीका अनुसार गत महिना भारतबाट मात्रै ६० हजार २ सय मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको थियो। हाल पनि सोही अनुपातमा ग्यास आयात भइरहेकाले तत्काल अभावको अवस्था नरहेको उनले बताए। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले राजधानी बाहिरका उद्योगमा ग्यास भरेर उपत्यका लैजान उद्योगीलाई अनुमति दिएको हो। उनका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका विभिन्न ग्यास उद्योगसँग समन्वय गरेर सिलिन्डर भरी उपत्यकामा आपूर्ति गरिरहेका छन्। उपत्यका र आसपासका क्षेत्रमा मात्रै देशको कुल एलपी ग्यास खपतको करिब ४० प्रतिशत खपत हुने भएकाले सडक अवरोधका बीच वैकल्पिक माध्यमबाट आपूर्ति व्यवस्थापन गरिएको उद्योगीहरूले बताएका छन्।