काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी छ।
सरकारले विभिन्न क्षेत्रबाट प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाएको छ।यसैक्रममा कुमारी बैंक लिमिटेडले ३ करोड रुपैयाँ नगद प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।बैंकका अनुसार बाढीबाट प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै खोजी कार्य र प्रभावित परिवारको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो।रसुवामा बाढीका कारण ठूलो क्षति भएपछि सरकारले राहत, उद्धार र पुनःस्थापनाका लागि स्रोत परिचालनलाई प्राथमिकता दिएको छ। निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणबाट प्राप्त सहयोगलाई व्यवस्थित रूपमा प्रभावितसम्म पुर्याउन सरकारले एकद्वार प्रणाली अपनाएको जनाएको छ।प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने सहयोग आवश्यकताको आधारमा प्रभावित क्षेत्रमा परिचालन गरिने सरकारको भनाइ छ।