काठमाडौं । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापा मगर नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपक देवकोटाले बिहीबार थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थनमा थापाले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले दाबीमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।नयाँ सरकारमा मन्त्रालय बाँडफाँटसमेत टुंगो लागेको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, राप्रपाले तीन मन्त्रालय र नेकपाले दुई मन्त्रालय पाउनेछन्।तर, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्र भने विवाद देखिएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको केन्द्रीय निर्णयविपरीत एमालेका मुख्यमन्त्री उम्मेदवारलाई समर्थन गरेको भन्दै पार्टीले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले थापालाई संसदीय दलको नेता तथा पार्टीको साधारण सदस्यबाट समेत हटाउन सिफारिस गर्ने निर्णय गरिसकेको छ।यसअघि बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो। एमालेको समर्थनमा बनेको उक्त सरकारको नेतृत्व कांग्रेसका इन्द्रबहादुर बानियाँले गरेका थिए। सत्ता समीकरण परिवर्तनसँगै अब एमाले नेतृत्वमा नयाँ सरकार बनेको हो।