काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशमा सरकार गठनका क्रममा नेकपा एमालेले राप्रपाभित्र चलखेल गरेको आरोप लगाएका छन् ।
राप्रपा केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले एमालेले सत्ता केन्द्रित गतिविधि गर्दै राप्रपाका प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको दाबी गरेका हुन् ।बागमती प्रदेशमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रको निर्देशनविपरीत एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै पत्र दिएपछि विवाद चर्किएको थियो । बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन् । सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन एमाले र नेकपालाई राप्रपाको समर्थन महत्वपूर्ण देखिएको थियो ।लिङ्देनका अनुसार एमालेले राप्रपासँग औपचारिक रूपमा सरकार गठनका लागि सहयोग मागेको थिएन । पार्टी कार्यालयमा पत्र पठाउने वा नेतृत्वसँग औपचारिक छलफल गर्ने कामसमेत नगरी प्रदेशसभा सदस्यहरूलाई प्रभावित पार्ने प्रयास गरिएको उनको आरोप छ ।
उनले भने, “एमालेले विगतमा जस्तै सत्ताकेन्द्रित गतिविधिमा दलहरूबीच खेल्ने काम अहिले पनि गरेको स्पष्ट रूपमा देखियो।”लिङ्देनले राप्रपाका प्रदेशसभा सदस्यहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास भएको दाबी गर्दै त्यसको परिणाम उद्धव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको घटनाबाट देखिएको बताए ।पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरिसकेको उनले जानकारी दिए । पार्टीको निर्णयविपरीत बागमती सरकारमा सहभागी हुने अन्य सांसदलाई समेत कारबाही गरिने चेतावनी लिङ्देनले दिएका छन् ।यसैबीच, बागमती प्रदेश सरकारमा राप्रपा तीन मन्त्रालयसहित सहभागी हुने तयारीमा रहेको बताइएको छ । सरकारमा सहभागिताबारे पार्टीभित्र छलफल जारी रहे पनि नेतृत्वले पार्टी अनुशासन उल्लंघन गर्ने सांसदप्रति कडा नीति लिने संकेत गरेको छ ।