काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य उद्धव थापामाथि कारबाही गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय निर्णय र निर्देशनविपरीत बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएपछि थापामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । प्रदेशसभा सदस्य पदबाट समेत मुक्त गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको उनले बताए ।यसअघि राप्रपाले बुधबार थापासँग पार्टीको निर्णयविपरीत गतिविधि गरेको विषयमा स्पष्टीकरण मागेको थियो । तर, थापाले स्पष्टीकरण नदिएको पार्टी नेतृत्वले जनाएको छ ।
अध्यक्ष लिङ्देनका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले साउन २० गते प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । त्यसपछि साउन २१ गते बागमती प्रदेशका १२ जना सांसदलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएर उक्त निर्णयबारे जानकारी गराइएको थियो ।त्यसैगरी, भदौ १ गते पनि बागमती प्रदेश सरकारको समर्थन वा विरोधमा संलग्न नहुन निर्देशनसहितको पत्र पठाइएको लिङ्देनले बताए । तर, पार्टीको निर्देशनविपरीत थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि त्यसलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिइएको उनको भनाइ छ ।लिङ्देनले भने, ‘पार्टीले सरकारमा सहभागी नहुने स्पष्ट निर्णय गरेको अवस्थामा अचानक एमालेलाई समर्थन गर्ने पत्र जानु अनुशासन उल्लंघन हो।’उद्धव थापा २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ ख बाट निर्वाचित भएका थिए । उनी हाल बागमती प्रदेशसभामा राप्रपाको संसदीय दलको नेतृत्व गर्दै आएका थिए ।