काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीमा गोदाम घर निर्माणका लागि जग्गा खरिद गर्दा भएको आर्थिक अनियमितता र ठगी प्रकरणमा १० वर्षपछि अनुसन्धान तीव्र पारिएको छ। जग्गा खरिदका क्रममा करिब २ करोड रुपैयाँ घोटाला गरेको र ७ आना जग्गा गायब पारेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जना पदाधिकारीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सीआईबीले उपत्यकाका विभिन्न स्थानबाट रेडक्रसका पूर्वअध्यक्ष ७० वर्षीय सञ्जीव थापा, ५२ वर्षीय राजेश देशमरु, ५७ वर्षीय उमेशप्रसाद ढकाल, ५८ वर्षीय मदनकृष्ण फोजु र ६७ वर्षीय इन्द्रबहादुर केसीलाई पक्राउ गरेको थियो। सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार भक्तपुरमा रेडक्रसका लागि जग्गा खरिद गर्दा ठूलो मात्रामा अनियमितता भएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका पाँचै जनालाई मंगलबार थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ। तर, ठगीसम्बन्धी कसुरमा म्याद थपका लागि अदालत पु¥याइएकोमा अदालतले उनीहरूलाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको परिसरका प्रवक्ता एवं डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन् ।
रेडक्रसले गोदाम घर बनाउन १० वर्षअघि २२ भदौ २०७३ मा जारी गरेको सूचनाअनुसार १० जनाले प्रस्ताव पेस गरेका थिए। सोही क्रममा राजेश देशमरुले पेस गरेको भक्तपुर वडा ४ (क) को कित्ता नम्बर ८६३, ४९६, ४९७ र ५८१ को ५ रोपनी १३ आना ३ पैसा जग्गा ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँमा खरिद गरिएको थियो। तर नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल यकिन गराउँदा फिल्डमा ५ रोपनी ६ आना २ पैसा १ दाम मात्रै रहेको पाइएपछि ७ आना जग्गा गायब भएको सीआईबीका एसएसपी अनुपमशमशेर जबराले बताए ।
यसैगरी जग्गा खरिदका क्रममा बिचौलियामार्फत १ करोड ९३ लाख ७५० रुपैयाँ घोटाला गरिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ। निस्वार्थ मानवीय सेवामा समर्पित हुनुपर्ने संस्थाका जिम्मेवार पदाधिकारीहरूले संस्थालाई हानिनोक्सानी पु¥याई ठगी गरेको सीआईबीले जनाएको छ। रेडक्रसमा भूकम्प पीडितका लागि आएको वैदेशिक सहायता र अन्य राहत रकममा समेत व्यापक हिनामिना भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा अहिले अनुसन्धान अघि बढाइएको हो।