काठमाडौँ । घटनाको विरोधमा स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गर्दै बालिकाको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका हुन्।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिन तथा पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। यसैबीच, प्रहरीले बालिका हत्या प्रकरणमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुमन थापा र अनुसन्धानका लागि म्याजिक भ्यान चालक प्रोग्रेस चौधरीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका सुमन थापाले बालिकामाथि बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गर्ने क्रममा कुकुरले संकेत गरेपछि थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थापा वीरगञ्ज–पथलैया रुटमा सञ्चालन हुने म्याजिक भ्यानका सहचालक हुन्। प्रारम्भिक अनुसन्धानमा उनले बालिकालाई एकान्त स्थानमा लगेर अपराध गरेको खुलेको प्रहरीको भनाइ छ। आइतबार बिहानदेखि बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढा रहेको खाली घरमा फेला परेको थियो। घटनापछि स्थानीयवासीले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्।